काठमाडौँ । विभिन्न कार्यक्रम आयोजना गरी आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।
युवाका अधिकार, अवसर, सहभागिता र सम्भावनाबारे सचेतना फैलाउने तथा युवाका सवाललाई नीति निर्माणको तहसम्म पुर्याउने उद्देश्यले हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउने गरिन्छ।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकांक्षा’ रहेको छ । फरक सामाजिक, आर्थिक तथा भौगोलिक परिवेशमा रहेका युवाका साझा आवश्यकता, आकांक्षा र चुनौतीलाई सम्बोधन गर्दै उनीहरूलाई विकास प्रक्रियामा समान रूपमा सहभागी गराउनुपर्ने विषयमा यस वर्ष जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस तथा पैरवी गर्नु, युवाका सवाललाई प्राथमिकतामा राख्नु र नीति निर्माण तथा कार्यान्वयनमा युवाको अर्थपूर्ण सहभागिता बढाउनु हो ।
साथै शिक्षा, रोजगारी, उद्यमशीलता, नेतृत्व विकास तथा सामाजिक सहभागिताका क्षेत्रमा युवाका लागि अवसर सिर्जना गर्न पनि दिवसले ध्यानाकर्षण गराउँदै आएको छ ।
नेपालमा पनि युवा लक्षित विभिन्न कार्यक्रम, अन्तरक्रिया, गोष्ठी, सचेतनामूलक गतिविधि तथा छलफल आयोजना गरी दिवस मनाइँदै छ।
युवाको क्षमता र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने तथा उनीहरूका समस्या र अपेक्षालाई सम्बोधन गर्नुपर्ने विषयमा पनि दिवसका अवसरमा जोड दिइने गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ।
विश्वभर युवाको भूमिका, अधिकार र योगदानलाई सम्मान गर्दै उनीहरूसँग सम्बन्धित विषयमा सरकार, नागरिक समाज तथा सरोकारवाला निकायबीच सहकार्य र बहस अघि बढाउने अवसरका रूपमा यो दिवस मनाइन्छ ।




