काठमाडौँ। बजारमा अण्डाको माग बढेसँगै नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको छ।
नयाँ मूल्यअनुसार एक्सएल साइजको अण्डा प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार रुपैयाँ निर्धारण गरिएको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आए पनि रोगका कारण ठूलो सङ्ख्यामा कुखुरा मरेकाले अण्डाको उत्पादन घटेको छ। उत्पादन घटेसँगै बजारमा माग बढेपछि समर्थन मूल्य वृद्धि गरिएको उनले बताए।
अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा अर्थात् प्रतिक्रेट ५७३ रुपैयाँ ६० पैसा पर्ने भए पनि किसानले लागतअनुसार मूल्य पाउन सकेका छैनन्।
व्यवसायीका अनुसार उत्पादन घट्नु र उचित मूल्य नपाउँदा किसानहरू बैंकको ऋणमा निर्भर हुनुपर्ने तथा पेसाबाटै पलायन हुने अवस्थामा पुगेका छन्।




