काठमाडौँ। कपिलवस्तुमा तीन जना सवार मोटरसाइकल सडक छेउमा बिग्रिएर बनाउँदै गरेको मिनी ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका-३ कटैयाभारीका २३ वर्षीय सन्तोष कहार रहेका छन्। गम्भीर घाइते भएका कहारको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा चिकित्सकले राति ११ः१३ बजे मृत्यु भएको घोषणा गरेका हुन्।
सोही मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका-७ पिपरहवाका ३२ वर्षीय शेषराम पासी र २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन्। दुवै जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ।
कपिलवस्तु नगरपालिका-७ धरमपनियास्थित तौलिहवा-भैरहवा सडकखण्डमा बिग्रिएर सडक छेउमा बनाउँदै गरेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु.८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।



