Nidan Media

अमेरिकी दूतावासको उद्यमशीलता कार्यक्रमको उत्कृष्ट २० मा गण्डकीका पाँच उद्यमी

काठमाडौँ। अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत काठमाडौँमा सम्पन्न तीनदिने ‘क्यापस्टोन एक्सेलेरेटर’मा गण्डकी प्रदेशका पाँच उद्यमी सहभागी भएका छन्।

देशभरका सात सहरमा आयोजित कार्यशालामा सहभागी दुई सयभन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोटबाट उत्कृष्ट २० मा परेका पाँच जना गण्डकीका उद्यमीले काठमाडौँमा आफ्नो व्यवसाय, नवप्रवर्तन र विस्तारका योजनासहित प्रस्तुति दिएका हुन्।

गण्डकीबाट साइनो मार्केटप्लेसका कमलराज पराजुली, लुमिनो टेक्नोलोजीका विजय कुमाल, लुम्ले कफी इस्टेटका नवीन देवकोटा, पाथसुत्रका हरिकृष्ण लामिछाने र नेपाल लोकसेवा तयारीसम्बन्धी एप ‘नेप्टेकपाल’का विवेक आचार्य उत्कृष्ट २० उद्यमीमा छनोट भएका हुन्।

तीनदिने क्यापस्टोन एक्सेलेरेटरमा सहभागी उद्यमीलाई आफ्नो व्यवसायलाई थप व्यवस्थित, लगानीयोग्य र अन्तर्राष्ट्रिय बजारका लागि सक्षम बनाउने विषयमा प्रशिक्षण तथा परामर्श दिइएको थियो।

लगानीका लागि तयारी, निर्यातको सम्भावना, कृत्रिम बुद्धिमत्ताको प्रयोग, बजार विस्तार, डिजिटल प्रविधि, बजारीकरण र रणनीतिक सञ्चारलगायत विषयमा विज्ञहरूले सहजीकरण गरेका थिए।

गण्डकीका पाँच उद्यमीका पाँच फरक सम्भावना

गण्डकीबाट सहभागी पाँच उद्यमीले फरक-फरक क्षेत्रका व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने सम्भावना प्रस्तुत गरेका छन्।

साइनो मार्केटप्लेसका कमलराज पराजुलीले नेपालमै उत्पादित वस्तुलाई डिजिटल माध्यमबाट बजारसँग जोड्ने ‘मेड इन नेपाल’ तथा ‘मेक इन नेपाल’ केन्द्रित विद्युतीय व्यापारिक मञ्चको अवधारणा प्रस्तुत गरेका छन्।

स्थानीय उत्पादनलाई प्रविधिको माध्यमबाट उपभोक्तासम्म पुर्‍याउने र नेपाली उत्पादनको बजार विस्तार गर्ने उद्देश्य उनको व्यवसायको मुख्य आधार हो।

लुमिनो टेक्नोलोजीका विनय कुमालले प्रविधिको क्षेत्रमा आधारित आफ्नो व्यवसाय तथा त्यसको विस्तारका सम्भावना प्रस्तुत गरेका छन्।

प्रविधिमार्फत नयाँ सेवा र समाधान विकास गर्दै बजारको आवश्यकता सम्बोधन गर्ने उनको उद्यमले डिजिटल अर्थतन्त्रमा गण्डकीका युवाको सम्भावनालाई प्रतिनिधित्व गरेको छ।

लुम्ले कफी इस्टेटका नवीन देवकोटाले गण्डकीको कृषि उत्पादन, विशेषगरी कफीलाई मूल्य अभिवृद्धिसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सम्भावना प्रस्तुत गरेका छन्। स्थानीय उत्पादनलाई ब्रान्डिङ, प्रशोधन र बजार विस्तारसँग जोडेर कफी क्षेत्रलाई व्यावसायिक बनाउन सकिने उनको व्यवसायले देखाएको छ।

पाथसुत्रका हरिकृष्ण लामिछानेले आफ्नो व्यवसायमार्फत उत्पादन तथा सेवाको क्षेत्रमा नयाँ सम्भावना प्रस्तुत गरेका छन्। व्यवसायलाई थप विस्तार गर्न लगानी, बजार र रणनीतिक व्यवस्थापनका विषयमा उनले कार्यक्रममा विज्ञहरूबाट सुझाव प्राप्त गरेका छन्।

त्यस्तै नेप्टेकपालका विवेक आचार्यले लोकसेवा तयारीलाई प्रविधिसँग जोड्ने डिजिटल सेवाको अवधारणा प्रस्तुत गरेका छन्। डिजिटल माध्यमबाट परीक्षार्थीलाई अध्ययन सामग्री तथा तयारीका सेवा उपलब्ध गराउने उनको उद्यमले शिक्षा र प्रविधिको संयोजनमार्फत ठूलो बजार सिर्जना गर्न सकिने सम्भावना देखाएको छ।

लगानीकर्ता र व्यवसायिक क्षेत्रसँग प्रत्यक्ष संवाद

क्यापस्टोन एक्सेलेरेटरको अन्तिम चरणमा सहभागी उद्यमीले लगानीकर्ता, उद्योगी, व्यवसायिक नेतृत्व तथा उद्यमशीलता क्षेत्रका प्रतिनिधिसमक्ष आफ्ना व्यवसाय प्रस्तुत गरेका थिए। प्रस्तुतिका क्रममा उद्यमीले आफ्ना व्यवसायको नवप्रवर्तन, विस्तार क्षमता, बजार सम्भावना, लगानी आवश्यकता र निर्यात क्षमताबारे जानकारी गराएका थिए।

कार्यक्रममा ‘मेन स्ट्रिट’ नाम दिइएको प्रदर्शनीसमेत आयोजना गरिएको थियो। त्यस क्रममा सहभागी उद्यमीले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शन गर्दै लगानीकर्ता, व्यवसायी, नेपालस्थित अमेरिकी व्यवसायिक प्रतिनिधि तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए।

अमेरिकी दूतावास नेपालका सार्वजनिक मामिला प्रमुख माइक हार्करले बलिया व्यावसायिक अवधारणा भएका उद्यमीमा लगानी, नवप्रवर्तनलाई प्रोत्साहन तथा संस्थापक, उद्योगी र लगानीकर्ताबीच सम्बन्ध विस्तारले व्यावसायिक कूटनीतिलाई अघि बढाउने बताएका छन्।

सात सहरका दुई सयभन्दा बढी उद्यमीबाट उत्कृष्ट २०

क्यापस्टोन एक्सेलेरेटर कार्यक्रमअघि नेपालका सात सहरमा उद्यमशीलता विकाससम्बन्धी कार्यशाला सञ्चालन गरिएको थियो। ती कार्यक्रममा सहभागी दुई सयभन्दा बढी उद्यमीबाट उत्कृष्ट २० जनालाई अन्तिम चरणका लागि छनोट गरिएको हो।

अन्तिम चरणको कार्यक्रममा सहभागी उद्यमीलाई व्यवसायको कानुनी अनुपालन, निर्यात तयारी, कृत्रिम बुद्धिमत्तामार्फत व्यवसाय विस्तार, डिजिटल बजारीकरण तथा लगानी आकर्षणलगायत विषयमा प्रशिक्षण र विज्ञ परामर्श दिइएको थियो।

कार्यक्रम अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालन भएको हो भने अन्तर्राष्ट्रिय विकास संस्था र आद्यन्त एडभाइजरीको साझेदारीमा कार्यान्वयन गरिएको थियो।

कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, प्रविधि, उत्पादनमूलक उद्योग, सिर्जनात्मक क्षेत्र, परामर्श, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, सहकारी तथा सामाजिक उद्यमलगायत विभिन्न क्षेत्रका व्यवसाय उत्कृष्ट २० मा समेटिएका छन्।

गण्डकीका पाँच उद्यमीको छनोटले प्रदेशमा कृषि, प्रविधि, डिजिटल सेवा र स्थानीय उत्पादनमा आधारित उद्यमको सम्भावना मात्र देखाएको छैन, स्थानीय व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकिने अवसरसमेत उजागर गरेको छ।

काठमाडौँमा भएको क्यापस्टोन शोकेस उनीहरूका लागि लगानीकर्ता र बजारसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण अवसर बनेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.