महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ७ः३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा१क ६१२९ नम्बरको मोर्डन शारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका-५ निवासी करिब ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन्।
घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको उपचारका लागि बिके अस्पताल, गौशाला तथा स्थानीय मेडिकलमा पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




