Nidan Media

नेपाली फुटबलका नवप्रतिभा सिजन विक तालिमका लागि स्पेन प्रस्थान

काठमाडौं । नेपाली फुटबलका उदयीमान युवा खेलाडी सिजन विक आफ्नो खेल कौशललाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउने उद्देश्यका साथ फुटबलको विश्वविजेता राष्ट्र स्पेन प्रस्थान गरेका छन्। उनले स्पेनस्थित अलिकान्ते फुटबल एकेडेमीमा आफ्नै खर्चमा दुई महिनासम्म विशेष प्रशिक्षण लिनेछन्।

ललितपुरको हात्तीबन निवासी सिजनले आफ्नो फुटबल यात्राको सुरुआत सेन्ट जेभियर्स स्कुलबाट गरेका हुन्। त्यसपछि उनले अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीमा प्रशिक्षण लिएर आफ्नो खेल यात्रालाई निरन्तर अघि बढाए।

माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि उनले उच्च शिक्षासँगै व्यावसायिक फुटबल प्रशिक्षणका लागि भारतको गुरुग्रामस्थित भाइचुङ भुटिया फुटबल स्कुल्समा अध्ययन तथा प्रशिक्षण पूरा गरी कक्षा १२ उत्तीर्ण गरेका हुन्।

सिजनले इटालीको प्रतिष्ठित एसी मिलान एकेडेमीको जुनियर क्याम्पमा सहभागिता जनाइसकेका छन्। साथै बेलायतको साउथह्याम्प्टन फुटबल क्लबमा समेत प्रशिक्षण लिँदै आफ्नो खेल क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने अवसर प्राप्त गरेका थिए।

हाल संकटा क्लबबाट आबद्ध सिजनले नेपालमा विभिन्न विद्यालयस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्। भारतमा पनि उनले सीबीएसई क्लस्टर, सीबीएसई राष्ट्रिय, दिल्ली बी डिभिजन तथा १९ वर्षमुनिको युथ लिग टियर-१ जस्ता प्रतिष्ठित प्रतियोगितामा सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रमाणित गरिसकेका छन्।

स्पेनमा हुने यस प्रशिक्षणबाट सिजनले अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्दै नेपालले एक सक्षम, परिपक्व र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट फुटबल खेलाडी पाउने विश्वास गरिएको छ। साथै उनको यो प्रयासले नेपाली फुटबलको भविष्यलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.