Nidan Media

विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार झापाको बाह्रदशी गाउँपालिका-३ रामनगरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्री ५० वर्षीय प्रेमबहादुर पौडेलको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक कुन्दन गणेश घाइते भएका छन्।

सर्लाहीको गोडैता नगरपालिका-४ रोहुवास्थित हुलाकी सडकमा भारतीय नम्बरको मोटरसाइकलले पैदलयात्री करिब ६० वर्षीय उमेद रायलाई ठक्कर दिँदा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सिन्धुलीको दुधौली नगरपालिका-६ मा प्रहरी जवान सुनिल विकले चलाएको मोटरसाइकलले पैदलयात्री ४९ वर्षीया सुकुमाया माझीलाई ठक्कर दिँदा उनको घटनापछि उपचारकै क्रममा मृत्यु भएको छ।

नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका-३ पिपरमौवामा रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक २२ वर्षीय टेकेन्द्र चौधरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

रोल्पाको सुनीलस्मृति गाउँपालिका-२ मा गत साउन ८ गते मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका २३ वर्षीय बसन्त सिंह ठकुरीको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा गत असार २४ गते अटोको ठक्करबाट घाइते भएका ६० वर्षीय रत्नबहादुर विकको भारतको लखनउस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले सबै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.