काठमाडौँ। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार झापाको बाह्रदशी गाउँपालिका-३ रामनगरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्री ५० वर्षीय प्रेमबहादुर पौडेलको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक कुन्दन गणेश घाइते भएका छन्।
सर्लाहीको गोडैता नगरपालिका-४ रोहुवास्थित हुलाकी सडकमा भारतीय नम्बरको मोटरसाइकलले पैदलयात्री करिब ६० वर्षीय उमेद रायलाई ठक्कर दिँदा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सिन्धुलीको दुधौली नगरपालिका-६ मा प्रहरी जवान सुनिल विकले चलाएको मोटरसाइकलले पैदलयात्री ४९ वर्षीया सुकुमाया माझीलाई ठक्कर दिँदा उनको घटनापछि उपचारकै क्रममा मृत्यु भएको छ।
नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका-३ पिपरमौवामा रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक २२ वर्षीय टेकेन्द्र चौधरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
रोल्पाको सुनीलस्मृति गाउँपालिका-२ मा गत साउन ८ गते मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका २३ वर्षीय बसन्त सिंह ठकुरीको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा गत असार २४ गते अटोको ठक्करबाट घाइते भएका ६० वर्षीय रत्नबहादुर विकको भारतको लखनउस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले सबै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





