काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सामाजिक सद्भाव, राष्ट्रिय एकता र मुलुकको समग्र सुरक्षा अवस्थालाई थप सुदृढ बनाउन सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको समन्वय प्रभावकारी बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र साहको अध्यक्षतामा सिंहदरबारस्थित परिषद् सचिवालयमा बिहीबार बसेको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव कायम राख्न सबै निकायबीच निरन्तर समन्वय र सहकार्यलाई प्राथमिकता दिने निर्णय गरेको हो।
बैठकमा साउन १० गते सुनसरीमा भएको घटनाबारे पनि विस्तृत छलफल भएको थियो। राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट त्यहाँको अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी बैठकमा गराइएको थियो।
यस्ता घटना भविष्यमा दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्धित पक्षबीच निरन्तर संवाद तथा समन्वय कायम राख्ने निर्णय पनि बैठकले गरेको छ। साथै, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना सुदृढ हुने गरी कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिइएको छ।
बैठकले प्राकृतिक विपद्का घटनामा खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी तथा समयमै सञ्चालन गर्न सम्बन्धित निकायबीचको समन्वय मजबुत बनाउने निर्णय पनि गरेको छ।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र साह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मुख्यसचिव गोविन्द कार्की तथा प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।




