Nidan Media

वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्।

नेपाल प्रहरीले बिहीबारसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ।

प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका-३ पाठदुरस्थित कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।

भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण बन्द रहेको छ भने इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग अविरल वर्षाका कारण अवरुद्ध भएको छ।

यस्तै, काभ्रेपलाञ्चोक हुँदै सञ्चालन हुने बीपी राजमार्गमा यसअघि जारी गरिएको समय-आधारित सवारी सञ्चालन व्यवस्था यथावत् रहेको छ।

साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ भने बिहान ४ देखि साँझ ६ बजेसम्म सडकको अवस्थाअनुसार सवारी सञ्चालन गरिने व्यवस्था लागू छ।

मकवानपुर-ललितपुर जोड्ने कान्तिलोकपथमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द रहने व्यवस्था कायम छ।

त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलोस्थित अरनिको राजमार्ग पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ भने भोटेकोशी गाउँपालिका-२ कोदारी क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.