काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा उत्पन्न संवेदनशील परिस्थितिमा सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर सबै राजनीतिक दल, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिए।
सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै थापाले भने, “यतिखेर सरकार कहाँ छ? सरकार केवल बन्दुकको गोलीमा र लाठीमा मात्रै भेटिनु हुँदैन। सरकार स्टाटसमा मात्र सीमित रहनु हुँदैन। सरकार अभिभावक मात्र होइन, नेतृत्वकर्ता पनि हो।”
उनले संकटका बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटघाट गर्ने, सर्वदलीय बैठक बोलाउने तथा प्रदेश र स्थानीय सरकारसँग संवाद गरेर साझा प्रयासको नेतृत्व गर्नुपर्ने बताए।
अहिले सबै राजनीतिक दल र सरोकारवाला पक्षलाई एकताबद्ध गरेर सामाजिक सद्भाव कायम राख्नु सरकारको मुख्य दायित्व भएको उनको भनाइ थियो।
थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजले वर्षौंदेखि आर्जन गरेको साझा सम्पत्ति भएकाले आवेग र उत्तेजनाभन्दा संयम र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
कांग्रेसले पनि देशभर आफ्ना नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको उनले जानकारी दिए।
रास्वपाले सबै दललाई एकै ठाउँमा ल्याउने पहल गरेको भन्दै थापाले सभापति रवि लामिछानेलाई धन्यवादसमेत दिए। उनले अहिलेको अवस्थामा सरकारलाई अप्ठ्यारो पार्नेभन्दा सामाजिक सद्भाव कायम राख्न सबै दलले सहकार्य गर्नुपर्ने बताए।
साथै, घटनाको छानबिन र जिम्मेवारीको विषयमा संसद्मा छलफल हुने उल्लेख गर्दै वर्तमान परिस्थितिमा सरकारले नेतृत्वदायी भूमिका देखाउनुपर्नेमा जोड दिए।




