Nidan Media

नेपाल-नामिबियाको खेल आज पनि, जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ। लगातार दुई खेलमा पराजित भएपछि नेपाल विश्वकप छनोटको दौडमा दबाबमा परेको छ। शीर्ष चारभित्र रहने सम्भावना कायम राख्न आजको खेलमा नेपाललाई जित्नै पर्ने अवस्था छ।

नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे शुरू हुनेछ। यसअघि जारी त्रिकोणात्मक शृङ्खलाको पहिलो भेटमा नामिबियाले नेपाललाई आठ विकेटले पराजित गरेको थियो। त्यसैले नामिबिया उच्च मनोबलका साथ मैदानमा उत्रनेछ भने नेपाल हारको बदला लिँदै जित निकाल्ने लक्ष्यमा हुनेछ।

नेपालको सबैभन्दा ठूलो समस्या ब्याटिङ बनेको छ। नामिबिया र नेदरल्यान्ड्सविरुद्ध दुवै खेलमा नेपाल १५७ रनमै समेटिएको थियो। शीर्षक्रमका ब्याट्सम्यानले राम्रो शुरूआत गर्न नसक्दा टोलीले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेको छैन। यद्यपि गेन्दबाजहरूले भने दुवै खेलमा संघर्षपूर्ण प्रदर्शन गरेका थिए।

लगातार दुई हारपछि नेपालको समीकरण पनि कठिन बनेको छ। नेपालले अब लिग-२ मा ६ खेल खेल्न बाँकी छ। सबै खेल जिते पनि ३६ अंक मात्रै पुग्ने भएकाले शीर्ष चारमा पर्न आफ्नै जितसँगै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ।

हाल अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा छ। स्कटल्यान्ड ३८, नेदरल्यान्ड्स ३६ र ओमान ३१ अंकका साथ शीर्ष चारमा छन्। नेपाल २४ अंकका साथ छैटौँ स्थानमा छ।

नेपालका लागि आजको खेल केवल दुई अंकका लागि मात्र होइन, विश्वकप छनोटको सम्भावना जोगाउने अवसर पनि हो।

पराजित भए नेपालको यात्रा थप कठिन बन्नेछ भने जितले शीर्ष चारको दौडलाई अझै खुला राख्नेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.