Nidan Media

बहुप्रतीक्षित नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आजदेखि सञ्चालनमा आउँदै

काठमाडौँ। करिब सात वर्षपछि बहुप्रतीक्षित नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ।

नेपालकै पहिलो सडक सुरुङमार्गको उद्घाटन आज बिहान १०ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा हुने तय भएको छ।

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको २ दशमलव ६८ किलोमिटर लामो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको घुमाउरो सडक र लामो ट्राफिक जामबाट यात्रु तथा सवारी चालकले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।

सुरुङमार्गले यात्रा समय घटाउनुका साथै इन्धन बचत, ढुवानी सहज र सडक सुरक्षामा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

सुरुङमार्ग सञ्चालनसँगै टोल शुल्क तिर्ने प्रणालीमा पनि परिवर्तन गरिएको छ। अब नगद भुक्तानीको व्यवस्था रहने छैन।

सवारी चालकले सम्बन्धित बैंकमार्फत प्राप्त एन-ट्याग स्टिकर सवारीमा अनिवार्य रूपमा जडान गरी त्यसमा रकम रिचार्ज गर्नुपर्नेछ। सुरुङमार्ग प्रवेश गर्दा स्वचालित रूपमा टोल शुल्क कट्टा हुने व्यवस्था गरिएको छ।

उद्घाटनपछि प्रारम्भिक चरणमा कार, जीप, भ्यान, पिकअप, बस तथा अन्य चारपाङ्ग्रे सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। मोटरसाइकल, पेट्रोल ट्यांकर, ग्यास बुलेटलगायतका सवारीलाई भने तत्कालका लागि प्रवेश निषेध गरिएको छ।

सवारीको प्रकार र यात्राको दिशाअनुसार टोल शुल्क फरक-फरक तोकिएको छ। कार, जीप, भ्यान र पिकअपले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनिबस, मिनी ट्रिपर र ट्यांकरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ निर्धारण गरिएको छ।

ठूला बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। बहु-एक्सल ट्रक तथा भारी उपकरण बोकेका सवारीका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ तोकिएको छ।

सुरुङमार्ग निर्माणको औपचारिक शुभारम्भ २०७६ कात्तिक ४ गते भएको थियो। साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न प्राविधिक तथा निर्माणसम्बन्धी कारण देखाउँदै जापानी निर्माण कम्पनीले चार पटकसम्म म्याद थप गरेपछि आयोजना अन्ततः सम्पन्न भएको हो।

आयोजनामा जापान सरकारको करिब २१ अर्ब ५० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब छ अर्ब रुपैयाँ लगानी रहेको छ।

आधुनिक भेन्टिलेसन प्रणाली, सीसीटीभी निगरानी, आगलागी नियन्त्रण उपकरण तथा आपत्कालीन उद्धार पूर्वाधारसहित सञ्चालनमा आएको यो सुरुङमार्ग नेपालका सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.