Nidan Media

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ बिमियास्थित हुलाकी सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्यपश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१-००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा सात सदस्यीय टोली घटनास्थल पुगेको थियो।

घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले आइतबार राति १ः५० बजे मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै खुल्न बाँकी रहेको छ। शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।

दुर्घटनामा संलग्न बस, मोटरसाइकल तथा बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका-५ का २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ।

बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-२ का २८ वर्षीय श्यामकुमार कामी भने रुपन्देहीमा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.