काठमाडौँ। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ।
प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्दै सुशासन र विकासलाई गति दिने उद्देश्यसहित दुई दलबीच सत्ता साझेदारीको सहमति भएको हो।
शनिबार भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ।
मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप टुङ्ग्याइने सहमतिपत्रमा उल्लेख छ।
दुवै दलले प्रदेशहरूमा पछिल्लो समय बजेट निर्माणका क्रममा देखिएको असमझदारी, राजनीतिक अस्थिरता तथा बजेटविहीन अवस्थालाई अन्त्य गर्न सहकार्य आवश्यक भएको निष्कर्ष निकालेका छन्।
सहमतिअनुसार जनताको अपेक्षाअनुसार प्रदेशको विकासलाई प्रभावकारी रूपमा अघि बढाउन संयुक्त सरकार गठन गरिने तथा प्रदेश सभामा पनि आपसी सहकार्यलाई मजबुत बनाइनेछ।
उक्त सहमतिपत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।





