Nidan Media

कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गरेर देशको नेतृत्व गर्नुपर्छ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचार्य जीवनभर वर्ग, विचार र क्रान्तिप्रति इमानदार, निष्ठावान तथा सरल व्यक्तित्वका रूपमा स्थापित भएको बताए।

प्रचण्डले जनयुद्धको तयारीका क्रममा आफू करिब छ वर्ष कर्मचार्यको संरक्षणमा बसेको स्मरण गर्दै त्यस अवधिमा जनयुद्धको तयारीबारे नियमित छलफल हुने गरेको बताए।

प्रचण्डले कम्युनिस्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने विषयमा कर्मचार्य सधैँ दृढ रहेको उल्लेख गर्दै एकता केन्द्र गठन हुँदा उनी निकै खुसी भएको, तर पछि विभाजन हुँदा दुःखी बनेको बताए।

उनले नेपालका प्रथम कम्युनिस्ट महासचिव पुष्पलाल श्रेष्ठका विचारलाई इतिहासले सही सावित गरिसकेको भन्दै अहिले कम्युनिस्ट आन्दोलनमा पुष्पलालप्रति कुनै विमति नरहेको बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.