Nidan Media

नेदरल्याण्ड्सविरुद्ध पनि नेपालको ब्याटिङ फ्लप, १५७ रनमै समेटियो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको महत्वपूर्ण खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि कमजोर ब्याटिङ प्रदर्शन गर्दै १५७ रनमै समेटिएको छ।

यसअघि नामिबियासँगको पहिलो खेलमा ८ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली नेदरल्याण्ड्सविरुद्ध पनि उही १५७ रनको योगफल बनाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४ ओभर ४ बलमा अलआउट हुँदै १५७ रनमा रोकियो। ७५ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। त्यस्तै गुल्सन झाले २९ तथा दीपेन्द्रसिंह ऐरीले २१ रन जोडे।

नेदरल्याण्ड्सका रोलोफ भान डर मार्वे र एलेक्स रोएले समान ३ विकेट लिए।

यो खेलमा जित निकाल्न सके नेपालको विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावना जीवित रहनेछ। पराजित भए नेपालको सम्भावना अंकगणितीय रूपमा मात्र सीमित हुनेछ।

लिग–२ को अंक तालिकामा नेपाल र नामिबियाको २९ खेलबाट समान २४ अंक छ। राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैटौँ स्थानमा छन्।

नेदरल्याण्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान चौथो स्थानमा रहेका छन्।

विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका बाँकी सात खेल निकै महत्वपूर्ण छन्। यद्यपि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन भने शीर्ष ६ भित्र रहनु पर्याप्त हुनेछ।

यस शृङ्खलामा नेपालले साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्याण्ड्ससँग खेल्ने तालिका रहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.