Nidan Media

बर्डफ्लुको कहर अन्त्यतिर, ११ जिल्लाको संकट नियन्त्रणमा

काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशमा बर्डफ्लुको कुनै नयाँ सङ्क्रमण पुष्टि भएको छैन। पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर-१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो।

विभागका महानिर्देशक डा. उमेश दाहालले हाल सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा रहेको र प्रभावित क्षेत्र वरपरबाट नमुना सङ्कलन गरी नियमित परीक्षण भइरहेको जानकारी दिए।

यसअघि गत चैत ४ गते मोरङबाट पहिलोपटक बर्डफ्लु पुष्टि भएको थियो भने त्यसपछि रोग ११ जिल्लामा फैलिएको थियो।

यसपटकको सङ्क्रमणबाट कमर्सियल लेयर्स कुखुरा सबैभन्दा बढी प्रभावित भए। साथै प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा पनि रोग देखिएको थियो। काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा मात्र ११९ स्थानमा सङ्क्रमण पुष्टि भएको थियो।

रोग नियन्त्रणका क्रममा देशभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा तथा २ लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको विभागले जनाएको छ।

प्रभावित किसानलाई राहतस्वरूप सरकारले ५२ करोड रुपैयाँ व्यवस्थापन गरेकोमा हालसम्म १०४ जना किसान तथा फर्मलाई ५० करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरिसकेको छ।

पशु सेवा विभागका अनुसार देशभरका प्रयोगशालाले परीक्षणलाई निरन्तरता दिएका छन्। सरकारको सक्रियता र किसानहरूको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा सफलता मिलेको तथा अब थप सङ्क्रमण फैलने जोखिम न्यून रहेको जनाइएको छ।

सङ्क्रमण नियन्त्रणमा आएसँगै बजारमा कुखुराको मासु र अण्डाको माग बढ्न थालेको छ भने लामो समयदेखि आर्थिक मारमा परेका किसानले पनि राहत महसुस गर्न थालेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.