काठमाडौँ । बर्डफ्लुको प्रभावका कारण केही समय घटेको अण्डाको मूल्य फेरि उकालो लाग्न थालेको छ। उत्पादनमा आएको गिरावट र बजारमा माग बढ्दै गएपछि अण्डाको भाउ बढाइएको हो।
नेपाल लेयर्स कुखुरापालक सङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ पुर्याइएको छ। मध्यम अण्डा ४२० रुपैयाँबाट ४७० रुपैयाँ र सानो अण्डाको मूल्य पनि ५० रुपैयाँले बढाएर ४१५ रुपैयाँ कायम गरिएको छ।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको प्रकोपपछि दैनिक करिब ४५ लाख गोटा हुने अण्डा उत्पादन घटेर २८ लाख हाराहारीमा सीमित भएको छ। उत्पादनमा आएको यो ठूलो कमीले बजारमा आपूर्ति घटाउँदा मूल्य बढ्न थालेको उनले बताए।
उनका अनुसार जेठको अन्तिमतिर एक क्रेट अण्डाको मूल्य ५५० रुपैयाँसम्म पुगेको थियो। त्यसपछि घटेर ४५० रुपैयाँमा झरेको मूल्य अहिले फेरि बढेको हो। तर हाल पनि एक क्रेट अण्डाको वास्तविक उत्पादन लागत ५७३ रुपैयाँ ६० पैसा (प्रतिगोटा १९ रुपैयाँ १२ पैसा) पर्ने भएकाले किसानले लागतसमेत उठाउन नसकेको पोखरेलको भनाइ छ।
उनले मूल्य केही सुधार भए पनि किसान अझै घाटामै रहेको उल्लेख गर्दै बर्डफ्लुबाट प्रभावित कुखुरापालकलाई सरकारले शीघ्र राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे। उत्पादन सामान्य अवस्थामा फर्किन नसके आगामी दिनमा अण्डाको मूल्यमा थप दबाब पर्न सक्ने व्यवसायीहरूको अनुमान छ।




