Nidan Media

चलेन नेपालको ब्याटिङ, नामिबियासामु १५८ रनको लक्ष्य

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध नेपालको ब्याटिङ फेरि एकपटक निराशाजनक बनेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमा समेटिँदै नामिबियालाई १५८ रनको सामान्य लक्ष्य दिएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। उनले ६० बलमा ३१ रनको योगदान दिए। दिपेन्द्र सिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोम्पाल कामीले १५ रन जोडे।

अन्य ब्याटरले दोहोरो अंकमा टिक्न सकेनन्। ओपनर कुशल भुर्तेल २ रनमै आउट हुँदा नेपाल सुरुदेखि नै दबाबमा परेको थियो। नेपालले अतिरिक्तबाट १५ रन पाएको थियो।

नामिबियाका जे.जे. स्मिट नेपालका लागि सबैभन्दा घातक सावित भए। उनले ९.५ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। बर्नार्ड स्कोल्ट्जले २ विकेट लिए भने ज्याक ब्रासेल र गेरहार्ड इरास्मसले १–१ विकेट लिए।

ब्याटिङमा लगातार विकेट गुमाउँदा नेपालले ठूलो साझेदारी बनाउन सकेन। कप्तान रोहित र दिपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरले साथ दिन नसक्दा टोली सानो योगफलमा समेटियो।

अब नेपाललाई खेल आफ्नो पक्षमा पार्न १५८ रनको लक्ष्य रक्षा गर्दै बलिङमा असाधारण प्रदर्शन गर्नुपर्ने चुनौती रहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.