काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तार तथा कृषि क्षेत्रको दिगो रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएकी छन्।
नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन्।
उक्त लक्ष्य हासिल गर्न चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी (सिडका), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको उनले उल्लेख गरिन्।
उनले अन्तर्राष्ट्रिय साझेदारीमार्फत आधुनिक कृषि पूर्वाधार निर्माण, उत्पादन वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य शृङ्खला विकास गर्ने सरकारको योजना रहेको बताइन्।
मन्त्री चौधरीका अनुसार नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्मको सीमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित छ। साथै, अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधुनिक परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यात प्रवर्द्धनमा समेत कठिनाइ भइरहेको उनले बताइन्।
उनले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण तथा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नवप्रवर्तन र जलवायु–स्मार्ट प्रविधिको अधिकतम उपयोगमार्फत उत्पादन वृद्धि, दिगो मूल्य शृङ्खला विकास तथा महिला र सीमान्तकृत समुदायको सशक्तीकरण सरकारको प्रमुख लक्ष्य रहेको बताइन्।




