पोखरा । पोखरा महानगरपालिका-१५ र १७ को बीच भागमा सेती नदीमा चट्टानसहितको ठूलो पहिरो खस्दा नदीको बहाव अवरुद्ध भई करिब ५० मिटर गहिरो जलाशय बनेपछि सम्भावित विपद् जोखिम बढेको छ।
घटनापछि पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, सुरक्षा निकाय तथा प्राविधिक टोली उच्च सतर्कताका साथ जोखिम न्यूनीकरणमा जुटेका छन्।
पोखरा महानगरपालिकाले नदीको पानी थुनिएर जलाशय बनेकाले कुनै पनि बेला थुनिएको भाग एक्कासि खुल्न सक्ने वा जलाशय वरपरका जमिन भासिन सक्ने जोखिम रहेको भन्दै रातोपैह्रा, महत्तगौंडा, लामातारा, दोबिल्ला लगायत सेती नदी किनारका बस्तीका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महानगरले अफवाहमा विश्वास नगरी आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ।
महानगरकी कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले थुनिएको नदीलाई पुनः प्राकृतिक बहावमा फर्काउने प्रयास भइरहेको बताउँदै सम्बन्धित निकाय, प्राविधिक विज्ञ तथा सरोकारवालासँग समन्वय गरेर जोखिम न्यूनीकरणका उपाय अघि बढाइएको जानकारी दिइन्।
उता जिल्ला प्रशासन कार्यालय कास्कीले पनि घटनालाई गम्भीर रूपमा लिँदै पोखरा महानगरपालिका र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखरालाई विस्तृत प्राविधिक अध्ययन गर्न निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी पत्रअनुसार जिल्ला सुरक्षा समितिको बैठकले पहिरोबाट नदीको बहावमा परेको तत्कालीन प्रभाव, जोखिम क्षेत्रको पहिचान, दीर्घकालीन असर, रोकथामका उपाय तथा भविष्यमा अपनाउनुपर्ने रणनीतिसहितको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयन गर्न निर्णय गरेको हो।
प्रशासनले अध्ययन प्रतिवेदनका आधारमा आवश्यक कार्यान्वयन गर्ने तथा त्यसको निरन्तर अनुगमन (फलोअप) गर्ने जनाएको छ। घटनास्थलमा कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्राविधिक विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थलगत निरीक्षण गरी सम्भावित जोखिमको मूल्याङ्कन गरेका छन्।
प्राविधिक रूपमा नदीको बहाव खुलाउने उपायको खोजी भइरहेको र सम्भावित क्षति न्यूनीकरणका लागि सबै निकायबीच समन्वयात्मक रूपमा काम भइरहेको प्रशासनले जनाएको छ।
स्थानीयवासीलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र कुनै असामान्य अवस्था देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।




