काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कानूनी शासनको संरक्षण गर्नुको सट्टा समाजमा अराजकता फैलाउने र कानुनको बर्खिलाप गर्ने कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको विरोध गर्ने युवालाई अध्ययन, रोजगारी तथा विदेश जाने अवसरबाट वञ्चित गरिने भन्दै त्रासको वातावरण सिर्जना गरिएको दाबी गरे।
ओलीले नागरिक स्वतन्त्रता खुम्चिँदै गएको तथा राज्यका विभिन्न अंग र निकायसमेत कार्यकारिणीको नियन्त्रणमा पुगेको टिप्पणी गरे। सरकारले कानूनी शासन स्थापना गर्नुको सट्टा कानुन र नियम मिच्ने काम गरिरहेको उनको आरोप थियो।
उनले संसद पनि सरकारको प्रभावमा परेको दाबी गर्दै सरकारको इच्छाअनुसार छोटो समयमा बजेट पारित गरिएको आरोप लगाए। न्यायपूर्ण कानून निर्माण गर्ने संसदको भूमिका कमजोर बनाइएको उनको भनाइ थियो।
ओलीले सरकारमाथि प्रभावकारी निगरानी र आलोचना गर्न राजनीतिक दल, नागरिक समाज तथा सञ्चारमाध्यमले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए। सरकारलाई कसैले सचेत गराउन वा आलोचना नगरे बेलगाम हुने उनको तर्क थियो।
सरकारको आलोचना गर्ने युवामाथि विभिन्न प्रकारका दबाब र धम्की दिइएको दाबी गर्दै उनले यस्तो प्रवृत्तिले मुलुकमा भय र असुरक्षाको वातावरण सिर्जना गरेको बताए।




