काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई) र सामाजिक सञ्जालको दुरुपयोगका कारण जनमत प्रभावित हुने जोखिम बढ्दै गएको बताएका छन्।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले शुक्रबार आयोजना गरेको वेबसाइट परिमार्जन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सूचना प्रविधिको विकासले समाज, परिवार र व्यक्तिको जीवनशैलीमा व्यापक परिवर्तन ल्याएको उल्लेख गर्दै उनले प्रविधि आज सञ्चारको माध्यम मात्र नभई सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको प्रमुख आधार बनेको बताए।
पोखरेलका अनुसार नेपालको राजनीतिमा पनि सूचना प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको छ। राजनीतिक दल, सरकार र नागरिकबीचको संवाददेखि संगठन व्यवस्थापन र जनसम्पर्कसम्म प्रविधिको भूमिका बढ्दै गएको भन्दै नेकपा एमालेले शुरूदेखि नै प्रविधिलाई संगठन व्यवस्थापन र जनसम्पर्कसँग जोड्ने प्रयास गर्दै आएको बताए।
उनले सूचना प्रविधिको विकाससँगै नयाँ चुनौती पनि थपिएको उल्लेख गर्दै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मलाई एल्गोरिदम, कृत्रिम बौद्धिकता तथा योजनाबद्ध प्रचारका माध्यमबाट जनमत प्रभावित गर्ने उपकरणका रूपमा प्रयोग गर्न थालिएको बताए।
उनका अनुसार गलत सूचना, भ्रामक सामग्री तथा कृत्रिम रूपमा निर्माण गरिएका आख्यानका कारण सही सूचना ओझेलमा पर्ने अवस्था सिर्जना भएको छ। त्यसैले तथ्यमा आधारित सार्वजनिक बहसलाई बलियो बनाउँदै सत्य सूचनालाई स्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएको उनको भनाइ छ।
पोखरेलले सूचना प्रविधिसँगै हुर्किएको नयाँ पुस्तालाई सही वैचारिक र राजनीतिक दृष्टिकोणसँग जोड्न नसकिए राष्ट्रियता, भाषा, संस्कृति र सामाजिक सम्बन्धप्रतिको चेतना कमजोर हुन सक्ने चेतावनी दिए। उनले राजनीतिक विचार र मूल्यलाई नयाँ पुस्तासम्म पुर्याउने शैली पनि समयअनुकूल हुनुपर्नेमा जोड दिए।
उनले परम्परागत माध्यम मात्र पर्याप्त नभएको उल्लेख गर्दै डिजिटल माध्यम, अन्तरक्रियात्मक सामग्री तथा नयाँ पुस्ताको मनोविज्ञानअनुकूल सञ्चार शैली विकास गर्नुपर्ने आवश्यकता औँल्याए। यही सोचअनुसार एमालेले आफ्नो वेबसाइटलाई आधुनिक प्रविधिसँग अनुकूल हुने गरी परिमार्जन गरिरहेको जानकारी दिए।
पोखरेलले पछिल्ला वर्षमा नेपाली समाजमा लोकप्रियतावाद र अवसरवादको प्रभाव बढेको उल्लेख गर्दै सूचना प्रविधिको सही प्रयोगले समाजलाई सकारात्मक दिशामा लैजान सकिने भए पनि दुरुपयोगले भ्रम, विभाजन र अविश्वास फैलाउन सक्ने बताए।
उनले कृत्रिम बौद्धिकताको प्रयोगमार्फत असत्यलाई सत्य र सत्यलाई असत्यजस्तो देखाउने प्रयाससमेत सम्भव भएको उल्लेख गर्दै प्रविधिको नैतिक, जिम्मेवार र विवेकपूर्ण प्रयोग अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए।
उनले प्रविधिको विकासलाई अस्वीकार गर्न नसकिने स्पष्ट पार्दै चुनौतीबाट भाग्ने होइन, त्यसलाई अवसरमा रूपान्तरण गर्ने क्षमता विकास गर्नुपर्ने धारणा राखे। सूचना प्रविधिलाई सही दिशामा उपयोग गर्न सकिए यसले समाजलाई भ्रमतर्फ होइन, विकास, सुशासन र समृद्धितर्फ डोर्याउन सक्ने उनको विश्वास छ।




