काठमाडौँ। आज साउने संक्रान्तिसँगै हिन्दू धर्मावलम्बीहरूको विशेष आस्थाको महिना श्रावण (साउन) शुरू भएको छ। भगवान शिवको आराधनाका लागि अत्यन्त पवित्र मानिने यस महिनाको पहिलो दिन देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
सूर्यले मिथुन राशि छाडेर कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने वा कर्कट संक्रान्ति भनिन्छ। यसै दिनदेखि सूर्य दक्षिणायण हुने धार्मिक मान्यता छ। यही कारण साउने संक्रान्ति र माघे संक्रान्तिलाई हिन्दू धर्ममा विशेष महत्वका साथ मनाइन्छ।
श्रावण महिनाभर विशेषगरी सोमबार भगवान शिवको व्रत बस्ने, शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो तथा फूल चढाएर पूजा गर्ने परम्परा छ। श्रद्धापूर्वक शिवको आराधना गरे मनोकामना पूरा हुने, पारिवारिक सुख-समृद्धि प्राप्त हुने तथा नकारात्मक ऊर्जा नष्ट हुने धार्मिक विश्वास रहिआएको छ। साउन महिनाभर देशभरका शिवालयमा भक्तजनको चहलपहल बढ्ने गर्दछ।
श्रावण महिना भगवान शिव र माता पार्वतीको आराधनासँग जोडिएको भएकाले विवाहित तथा अविवाहित महिलाका लागि विशेष महत्व राख्छ। यही अवसरमा महिलाहरूले हरिया चुरा, हरियो पोते, हरियो पहिरन तथा हातमा मेहन्दी लगाउने परम्परालाई निरन्तरता दिने गरेका छन्।
धार्मिक विश्वासअनुसार हरियो रंग हरियाली, समृद्धि, प्रेम, नयाँ जीवन र शुभताको प्रतीक हो। साउनभर हरिया चुरा लगाउने र मेहन्दी सिँगार्ने परम्पराले वैवाहिक जीवन सुखमय हुने, पतिको सुस्वास्थ्य र दीर्घायुको कामना पूरा हुने तथा परिवारमा सुख-समृद्धि आउने जनविश्वास रहिआएको छ।
हिन्दू धार्मिक ग्रन्थमा भगवान शिव र माता पार्वतीको दिव्य मिलनसँग साउन महिनालाई जोडिएकाले महिलाहरूले सोमबार व्रत बस्ने, शिवालयमा पूजा गर्ने र हरियो श्रृंगार धारण गर्ने चलन विकसित भएको मानिन्छ। अविवाहित युवतीहरूले पनि योग्य जीवनसाथी प्राप्तिको कामना गर्दै साउन सोमबार व्रत बस्ने र मेहन्दी लगाउने गर्छन्।
धार्मिक आस्थासँगै पछिल्ला वर्षहरूमा हरिया चुरा र मेहन्दी साउन महिनाको सांस्कृतिक पहिचानसमेत बनेका छन्।
बजारमा हरिया चुरा, पोते, साडी, कुर्ता तथा मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढ्ने गरेको छ भने विभिन्न संघसंस्थाले साउने विशेष कार्यक्रम र मेहन्दी प्रतियोगितासमेत आयोजना गर्ने गरेका छन्।
यद्यपि, हरिया चुरा र मेहन्दी लगाउने परम्परा मुख्यतः हिन्दू समुदायमा बढी प्रचलित भए पनि नेपालका विभिन्न जातजाति र समुदायले आफ्नै संस्कृति, परम्परा र विश्वासअनुसार साउने संक्रान्ति मनाउने गरेका छन्।
महिलाहरूले हरिया चुरा, पोते, मेहन्दी तथा हरियो पहिरन धारण गर्ने चलन पनि यसै महिनासँग जोडिएको छ। हरियो रंगलाई हरियाली, समृद्धि, प्रेम र शुभताको प्रतीक मानिन्छ। विवाहित महिलाले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा पनि प्रचलित छ।
साउने संक्रान्तिबाट स्नान, दान, होम, श्राद्धलगायत धार्मिक कार्यको शुभारम्भ हुने विश्वास छ। हिन्दू परम्पराअनुसार यस दिनबाट विभिन्न धार्मिक पर्वहरूको पनि क्रमशः शुरूआत हुने मान्यता रहेको छ।
साउने संक्रान्तिको अर्को प्रमुख विशेषता ‘लुतो फाल्ने’ परम्परा हो। वर्षायाममा फैलिन सक्ने दाद, लुतो, खटिरा लगायत छालाजन्य रोगबाट बच्न तथा रोगव्याधि र अशुभ शक्तिलाई प्रतीकात्मक रूपमा विदा गर्न यो परम्परा विकसित भएको मानिन्छ।
यस अवसरमा कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधीय वनस्पति बालेर घरको आँगनबाट चारैतिर अगुल्टो फ्याँकिन्छ। साथै नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टी बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोका बन्द गर्ने चलन पनि कतिपय स्थानमा अझै कायम छ।
कृषिप्रधान नेपाली समाजमा साउने संक्रान्तिको विशेष महत्व छ। ‘मानो खाई मुरी उब्जाउने’ उखानअनुसार असारभरि धान रोपाइँमा व्यस्त किसानले साउने संक्रान्तिका दिन परिवारसँग बसेर मिठो परिकार खाने, विश्राम गर्ने र वर्षायामको खेतीपातीका लागि नयाँ उत्साह जुटाउने चलन रहेको छ। मनसुन सक्रिय रहने यही समयमा धान रोपाइँ, खेतबारीको स्याहार तथा अन्य कृषि गतिविधि तीव्र हुने गर्छन्।
साउने संक्रान्ति हिन्दू समुदायमा मात्र सीमित छैन। किराँत समुदायले यस पर्वलाई ‘सिसेक्पा तङ्नाम’ का रूपमा मनाउँदै नयाँ फलफूल र अन्न आफ्ना इष्टदेवलाई चढाउने परम्परा निर्वाह गर्छन्।
लिम्बू, खम्बू, थारु, मगर, गुरुङ, थकाली, धिमाल, सुनुवार, याक्खा, माझी, जिरेल, छन्त्याल, बरामुलगायत विभिन्न आदिवासी जनजातिले पनि आफ्नै सांस्कृतिक परम्परा र विश्वासअनुसार साउने संक्रान्ति मनाउने गर्छन्। कतिपय समुदायले यसलाई प्रकृतिपूजा, पुर्खाको सम्मान, रोगव्याधि हटाउने तथा समृद्धिको कामना गर्ने पर्वका रूपमा लिन्छन्।
यस दिन खीर, उसिनेको वा पोलेको हरियो मकै, मौसमी फलफूल तथा घरमा उपलब्ध परिकार खाने चलन छ। वर्षायाममा शरीरलाई ऊर्जा र पोषण मिलोस् भन्ने उद्देश्यले खीर खाने परम्परा विशेष रूपमा प्रचलित रहेको मानिन्छ।





