काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूहरू सरकारको विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट गर्दै सरकारले जनताको अभूतपूर्व जनादेशअनुसार काम गर्न नसके लोकतन्त्र र वर्तमान व्यवस्थामाथि नै गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले एमाले रचनात्मक, सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै सरकार सफल होस् भन्ने आफ्नो पार्टीको चाहना रहेको बताए। उनले सरकार सफल हुनु लोकतन्त्र, संविधान र गणतन्त्रको सफलतासँग जोडिएको तर्क गरे।
बैठकको सुरुमै उनले सिंहदरबार अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका अनेरास्ववियुका अध्यक्ष दीपक धानीसहित अन्य विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गरे।
ती विद्यार्थीहरू सिंहदरबार जलाउन नभई कानूनी राज्य, विधिको शासन र आफ्ना माग राख्न आएको दाबी गर्दै सरकारले प्रहरी प्रयोग गरेर दमन गरेको आरोप लगाए।
महरले वर्तमान सरकारले प्राप्त गरेको जनमतलाई नेपालको लोकतान्त्रिक इतिहासकै अभूतपूर्व जनादेशको संज्ञा दिँदै त्यसको सम्मान गर्दै जनताको अपेक्षाअनुसार काम गर्न सरकारलाई आग्रह गरे। उनले सरकार असफल भए लोकतान्त्रिक गणतन्त्र, संविधान र संघीय व्यवस्थामाथि नै जनविश्वास कमजोर हुने बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतलाई एउटा राजनीतिक दलको मात्र नभई सम्पूर्ण युवा पुस्तामाथिको विश्वासका रूपमा व्याख्या गर्दै सरकार असफल भए त्यसको असर समग्र युवा पुस्तामाथि पर्ने चेतावनी दिए।
प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई महरले गम्भीर राष्ट्रहितविपरीतको टिप्पणीको संज्ञा दिए।
उक्त अभिव्यक्ति कुनै पनि सार्वभौम राष्ट्रका कार्यकारी प्रमुखले नदिएको दाबी गर्दै उनले प्रधानमन्त्रीले तत्काल फिर्ता लिनुपर्ने र जनतासँग माफी माग्नुपर्ने माग दोहोर्याए।
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्ने विषयमा संसद् सर्वसम्मत भएको स्मरण गराउँदै राष्ट्रियताका सवालमा संसद् विभाजित हुनु दुःखद् भएको टिप्पणी गरे।
महरले सुकुमवासी व्यवस्थापनमा सरकार हतारिएको आरोप पनि लगाए। वास्तविक सुकुमवासीको पहिचान र उचित व्यवस्थापन नगरी बस्ती हटाउँदा सर्वसाधारणले दुःख पाएको उल्लेख गर्दै उनले सुकुमवासी बालबालिका र प्रभावित परिवारको पीडाप्रति सरकार संवेदनशील नभएको बताए।
सरकारले प्रतिपक्षका सुझावलाई विरोधका रूपमा मात्रै लिने गरेको आरोप लगाउँदै महरले संसद्मा उठाइएका जनताका मुद्दाको जवाफ दिनुको सट्टा मन्त्रीहरूले प्रतिपक्षलाई हप्काउने शैली अपनाएको टिप्पणी गरे।
प्रतिपक्षको जिम्मेवारी सरकारका कमजोरी औँल्याएर सही बाटो देखाउनु भएको उल्लेख गर्दै उनले सरकारले आलोचनालाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।
महरले सरकारका पछिल्ला गतिविधि, निर्णय र कार्यशैलीप्रति जनतामै प्रश्न उठ्न थालेको दाबी गर्दै जनादेशको सम्मान, विधिको शासन, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय हितलाई केन्द्रमा राखेर सरकार अघि बढ्नुपर्नेमा जोड दिए।




