Nidan Media

मन्त्रिपरिषद्ले गरेका पाँच निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्नेलगायत पाँच महत्वपूर्ण निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरिएको जानकारी दिए।

बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल (एपीएफ) का विपद् खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।

यस्तै, शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णय भएको छ। सरकारले यसअघि विभिन्न कारणले रोकिएका नगद पुरस्कारसमेत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए।

उनका अनुसार आफ्नै खर्चमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जितेका खेलाडीका विषयमा पनि विवरण अध्ययन गरी आवश्यक निर्णय गरिनेछ।

मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारीसहित कार्यकारी अध्यक्षका रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।

त्यसैगरी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता पोखरेलले पछिल्लो समय चर्चामा रहेको घटनाबारे प्रहरीले निष्पक्ष अनुसन्धान गरिरहेको उल्लेख गर्दै कानुनविपरीत कार्यमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुने बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.