चितवन । अविरल वर्षाका कारण चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत जलविरे क्षेत्रमा पुनः पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द गरिएको छ। पहिरोको उच्च जोखिम कायम रहेकाले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार बिहान ६ः३० बजे सूचना जारी गर्दै लगातारको वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राखी जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकको निर्णयअनुसार सडक बन्द गरिएको जनाएको हो।
सोमबार साँझदेखि सडकका विभिन्न स्थानमा पहिरो र माथिबाट लेदो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो। अवरोधका कारण बीच बाटोमै रोकिएका यात्रु तथा सवारीसाधनलाई रातिसम्म पहिरो हटाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको प्रशासनले जनाएको छ।
मंगलबार बिहान जलविरे क्षेत्रमा पुनः पहिरो खसेको छ। अन्य स्थानमा खसेका पहिरो र लेदो हटाउन सडक डिभिजन कार्यालयले आवश्यक मेसिन परिचालन गरिसकेको भए पनि निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम उच्च रहेको जनाइएको छ।
प्रशासनले मुग्लिन–नारायणगढ सडक प्रयोग गर्ने यात्रुलाई अत्यावश्यकबाहेक यात्रा नगर्न तथा सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षाकर्मीको निर्देशनअनुसार यात्रा गर्न आग्रह गरेको छ।
आवश्यक सूचना तथा सहायताका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी (१११४), जिल्ला आपतकालीन सञ्चालन केन्द्र (१२३४) वा जिल्ला प्रहरी कार्यालय चितवनको सूचना अधिकारी (९८५५०१३९९९) मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।





