Nidan Media

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने भएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर नेपालको तराई भूभाग नजिक पुगेकाले वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा, मधेस प्रदेशका अधिकांश क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा कोशी, बागमती र गण्डकीका तराई र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

विशेषगरी कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

विभागले लगातारको वर्षाका कारण खोलानाला र नदीमा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागका पछिल्ला मौसम सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.