काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो निवाससहित विभिन्न सञ्चारमाध्यम र व्यापारिक प्रतिष्ठान अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनालाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले घटनालाई सामान्य सुरक्षा विषय नभई प्रश्न गर्ने आवाजलाई तर्साउने सुनियोजित प्रयासको संज्ञा दिँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफ्नो घरअगाडि राखिएको गाडी सामान्य रूपमा लिन नसकिने बताए। स्थानीयका अनुसार गाडी पार्किङ गरेपछि सम्बन्धित व्यक्ति प्रशासनको गाडी चढेर गएको जानकारी आफूले पाएको उल्लेख गर्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई चुनौती दिए।
“आज मेरो घरअगाडि गाडी मात्रै राखिएको होइन, मेरो मुख थुन्न खोजिएको हो। प्रश्न गर्नेहरूलाई खबरदार भन्ने शैलीमा तर्साउने प्रयास गरिएको छ,” थापाले भने।
उनले स्थानीयले पटकपटक प्रशासनलाई जानकारी गराउँदा पनि आवश्यक चासो नदिइएको दाबी गर्दै घटनाको जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने बताए। “यो कसले गरेको हो भन्ने प्रश्नको उत्तर सरकार आफैंले दिनुपर्छ,” उनले भने।
थापाले लोकतान्त्रिक व्यवस्थामा नागरिकको प्रश्न गर्ने र अभिव्यक्ति दिने अधिकार कुनै पनि शक्तिले दबाउन नसक्ने स्पष्ट पार्दै यस्ता गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिए। विगतमा पनि आफ्नो घर रहेको क्षेत्रमा राज्यका विभिन्न सुरक्षा निकायको अस्वाभाविक गतिविधि देखेको स्मरण गर्दै उनले दबाब र त्रासको राजनीतिबाट आफूहरू पछि नहट्ने बताए।
“हाम्रो हक कसैले खोस्न सक्दैन, हाम्रो हिम्मत पनि कसैले खोस्न सक्दैन। प्रश्न गर्ने समाज निर्माण गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो,” उनले भने।
थापाले नेपाली कांग्रेसको स्थापना नै नागरिकको बोल्ने, लेख्ने र प्रश्न गर्ने अधिकारको रक्षाका लागि भएको स्मरण गराउँदै वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिए। उनले शंकास्पद सवारी पार्किङ प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।





