Nidan Media

स्पेन-बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा, पोर्चुगल र अमेरिका बाहिरिए

काठमाडौँ। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा दुई युरोपेली शक्ति स्पेन र बेल्जियमबीच रोमाञ्चक भिडन्त तय भएको छ।

अन्तिम-१६ का खेलमा स्पेनले पोर्चुगललाई र बेल्जियमले सहआयोजक अमेरिकालाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्।

अमेरिकाको डलासमा भएको खेलमा स्पेनले पोर्चुगललाई १-० ले हरायो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्णय दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा भयो। फेरान टोरेसको पासमा मिकेल मेरिनोले गरेको गोल नै स्पेनको जितका लागि निर्णायक बन्यो।

खेलभर बल नियन्त्रण र आक्रमणमा स्पेन हाबी रह्यो। यस जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा फर्किएको छ।

सन् २०१० मा विश्वकप जितेपछि स्पेन २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम-१६ मै रोकिएको थियो। हारसँगै पोर्चुगलको विश्वकप यात्रा पनि समाप्त भएको छ।

यता अमेरिकाको सियाटलमा भएको अर्को खेलमा बेल्जियमले घरेलु टोली अमेरिकामाथि ४-१ को प्रभावशाली जित निकाल्यो।

बेल्जियमका चार्ल्स डे केटलेरले दुई गोल गर्दा हान्स भानकेन र रोमेलु लुकाकुले १-१ गोल थपे। खेलको नवौं मिनेटमा डे केटलेरले अग्रता दिलाएका थिए भने ३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत बराबरी गोल फर्काए। तर त्यसको दुई मिनेटमै डे केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफमा भानकेनले ५७औं मिनेटमा गोल गर्दै अन्तर फराकिलो बनाए भने इन्जुरी समयमा लुकाकुले गोल थप्दै बेल्जियमको शानदार जित सुनिश्चित गरे।

यससँगै बेल्जियम पनि आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। सन् २०१८ मा तेस्रो बनेको बेल्जियम २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो। अर्कोतर्फ, अमेरिका भने २४ वर्षपछि क्वार्टरफाइनल पुग्ने सपना पूरा गर्न असफल रह्यो।

अब सेमिफाइनल प्रवेशका लागि विश्व फुटबलका दुई बलिया टोली स्पेन र बेल्जियम आमनेसामने हुनेछन्, जसलाई यस विश्वकपकै सबैभन्दा आकर्षक क्वार्टरफाइनलमध्ये एक मानिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.