काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ।
नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच हुने शृङ्खलाका लागि टोलीलाई विशेष समारोहबीच बिदाइ गरिएको हो।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे।
उनले टोलीको तयारी र खेलाडीहरूको आत्मविश्वास सकारात्मक रहेको उल्लेख गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो नतिजा ल्याउने अपेक्षा गरे।
टोलीका कप्तान रोहित पौडेलले पनि टोलीको संयोजन सन्तुलित रहेको र शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले प्रत्येक खेलाडी मानसिक रूपमा तयार रहेको र मैदानमा शतप्रतिशत क्षमता प्रदर्शन गर्ने बताए।
“हाम्रो टोलीको संयोजन निकै राम्रो छ। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौँ। त्यसअनुसार मानसिक तयारी गरेका छौँ र प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछ,” कप्तान पौडेलले भने।
क्यानका अनुसार नेपालले जुलाई २१ देखि सुरु हुने लिग-२ शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प गर्नेछ। टोलीले त्यही क्रममा जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्ने कार्यक्रम रहेको छ।
विश्वकप लिग-२ नेपालको एकदिवसीय विश्वकप छनोट यात्राका लागि महत्वपूर्ण प्रतियोगिता मानिएको छ।
त्यसैले यस शृङ्खलामा राम्रो प्रदर्शन गर्दै अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यका साथ नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान गर्न लागेको हो।





