काठमाडौँ । उपाधिको प्रमुख दाबेदार मानिएको जर्मनी विश्वकप फुटबलको अन्तिम ३२ चरणबाटै बाहिरिएको छ।
आज बिहान भएको रोमाञ्चक नकआउट खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित हुँदै जर्मनीको विश्वकप यात्रा पहिलो नकआउट चरणमै टुंगिएको हो।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
शुरूआती ५-५ पेनाल्टीमा दुवै टोलीले ३-३ गोल गरेपछि खेल ‘सडन डेथ’ मा पुगेको थियो। त्यसमा पाराग्वेले निर्णायक गोल गर्दै ४-३ को जित निकाल्यो।
जर्मनीका लागि पेनाल्टीमा जोसुआ किम्मिच, जमाल मुसियाला र नदिम अमिरीले गोल गरे। तर काइ हाभर्ट्ज, निक वोल्टमाडे र जोनाथन ताहले अवसर सदुपयोग गर्न सकेनन्।
पाराग्वेका मौरिसियो, गुस्ताभो गोमेज, मातियास गालार्सा र होसे कानाले सफल प्रहार गरे। यद्यपि एन्टोनियो सानाब्रिया र फाबियन बाल्बुएना गोल गर्न असफल रहे।
यसअघि निर्धारित ९० मिनेटको खेलमा पाराग्वेले ४२औँ मिनेटमा युलियो एन्सिसोको गोलमार्फत अग्रता बनाएको थियो। दोस्रो हाफको ५४औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै जर्मनीलाई १-१ को बराबरीमा फर्काएका थिए।
अतिरिक्त समयको १०२औँ मिनेटमा जोनाथन ताहले जर्मनीका लागि गोल गरे पनि भिडियो सहायक रेफ्रीले त्यसलाई अफसाइड ठहर गर्दै मान्यता दिएन।
खेलभर जर्मनीले करिब ७५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै गोलका लागि लगातार आक्रमण गरे पनि अवसरलाई गोलमा परिणत गर्न नसक्दा महँगो मूल्य चुकाउनुपर्यो।
खेलमा दुवै टोलीका खेलाडीले समान २-२ वटा पहेँलो कार्ड पाए।
यस जितसँगै पाराग्वेले विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ भने उपाधिको प्रबल दाबेदार मानिएको जर्मनी अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएको छ।





