पोखरा । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट गम्भीर घाइते भएका दुई बालबालिकाको ज्यान गएको छ।
भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका-२ निवासी ६ वर्षीया सायना (चौना) थापा र ५ वर्षीय उलियम थापा गम्भीर घाइते भएका थिए। शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका बेला उनीहरूलाई कारले ठक्कर दिएको थियो।
घटनापछि दुवै बालबालिकालाई तत्काल उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएकामा अस्पतालले थप उपचारका लागि तत्काल चितवन मेडिकल कलेज (सीएमसी) अस्पताल रिफर गरेको थियो ।
गम्भीर घाइते दुवै बालबालिकाको उपचारका लागि चितवन लगिएकोमा शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु भएका सायना (चौना) र उलियम एउटै परिवारका दाजुभाइका छोराछोरी रहेको स्थानीयले बताएका छन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान अघि बढाएको जनाएको छ।




