पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले इजरायल भ्रमणबाट प्रविधि, स्मार्ट सिटी व्यवस्थापन, कृषि आधुनिकीकरण र स्थानीय सरकार सञ्चालनसम्बन्धी महत्त्वपूर्ण अनुभव तथा सिकाइ हासिल भएको बताएका छन्।
भ्रमण अनुभव सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै मेयर आचार्यले तेल अभिभ र जेरुसेलममा आयोजित ग्लोबल म्युनिसिपल एक्स्पोमा सहभागी भएर स्वदेश फर्किएको जानकारी दिएका हुन्।
उनका अनुसार नेपालबाट पोखरा महानगरपालिका, काठमाडौँ महानगरपालिका र जनकपुर उपमहानगरपालिकाले विशेष निमन्त्रणामा उक्त कार्यक्रममा सहभागिता जनाएका थिए।
मेयर आचार्यका अनुसार एक्स्पोको विशेष समारोहलाई इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्बोधन गरेका थिए।
सोही अवसरमा नेपाली प्रतिनिधिमण्डलले राष्ट्रपति हर्जोगसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने अवसर समेत प्राप्त गरेको उनले उल्लेख गरे।
उनले तेल अभिभका मेयर रोन हुल्डाई, जेरुसेलमका मेयर मोशे लियोन तथा विभिन्न देशका नगरप्रमुखहरूसँग स्थानीय सरकार सञ्चालन, आधुनिक सहरी विकास, नवीन प्रविधि र द्विपक्षीय सहकार्यका विषयमा फलदायी छलफल भएको बताए।
फेसबुक स्टाटसमा मेयर आचार्यले इजरायलको उच्च प्रविधि, कृषि आधुनिकीकरण र नवप्रवर्तन (इनोभेसन) नेपालका स्थानीय तहका लागि अनुकरणीय रहेको उल्लेख गरे।
सञ्चारमाध्यममा आउने समाचारका कारण आफूहरूमा रहेको सुरक्षा सम्बन्धी आशंका त्यहाँ पुगेपछि गलत सावित भएको भन्दै स्थानीय नागरिकमा उत्साह, देशप्रतिको भरोसा र सामान्य जनजीवन देखिएको अनुभव पनि उनले साझा गरेका छन्।
भ्रमण सफल बनाउन सहयोग गर्ने ग्लोबल म्युनिसिपल एक्स्पो आयोजक समिति, इजरायलस्थित नेपाली दूतावास तथा नेपालस्थित इजरायली दूतावासप्रति उनले आभार व्यक्त गरे।
मेयर आचार्यले भ्रमणका क्रममा गत वर्ष इजरायलमा भएको हमलामा ज्यान गुमाएका नेपाली विद्यार्थी विघान जोशीको कार्यस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेको पनि उल्लेख गरे। उक्त क्षणले भ्रमणलाई भावनात्मक रूपमा पनि गहिरो बनाएको भन्दै दिवंगत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरे।
मेयर आचार्यले यस भ्रमणबाट प्राप्त अनुभवले नेपाली स्थानीय तहलाई प्रविधिमैत्री, आधुनिक र समृद्ध बनाउने दिशामा नयाँ ऊर्जा र दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरे।




