Nidan Media

रास्वपाको नयाँ केन्द्रीय समिति निर्वाचित, स्वर्णिम वाग्ले सर्वाधिक मतसहित पहिलो

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय समितिका लागि सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। डिजिटल मतदानबाट खुला तथा विभिन्न समावेशी र प्रादेशिक क्लस्टर गरी कुल ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार उपसभापति डा. स्वर्णिम वाग्ले सर्वाधिक दुई हजार छ सय ५६ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन्। उनले प्रवास समितिबाट खसेको शतप्रतिशत मतसमेत प्राप्त गरेका छन्।

प्रतिनिधिसभा सदस्य सोविता गौतम २ हजार ५ सय ९४ मतसहित दोस्रो स्थानमा रहिन् भने पूर्वमन्त्री शिशिर खनाल २ हजार ४ सय ९५ मतका साथ तेस्रो र सागर ढकाल २ हजार ३ सय ३३ मतका साथ चौथो स्थानमा निर्वाचित भएका छन्।

संशोधित विधानअनुसार अब रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। तीमध्ये ९९ जना महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित, ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्ने र सातै प्रदेशका प्रदेश सभापति पदेन सदस्य रहने व्यवस्था छ।

खुलातर्फ निर्वाचित

खुला समूहतर्फ डा. तोसिमा कार्की, रञ्जु दर्शना, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य, रमेश प्रसाई, निशा डाँगी, विराजभक्त श्रेष्ठ, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, सस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम साह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी र लिमा अधिकारी आचार्य निर्वाचित भएका छन्।

समावेशी क्लस्टरबाट पनि नेतृत्व चयन

थारु, मधेसी, दलित, मुस्लिम, खस/आर्य तथा आदिवासी/जनजाति समूहबाट पनि प्रतिनिधित्व सुनिश्चित भएको छ। थारु समूहतर्फ करिष्मा कठरिया र अशोककुमार चौधरी, मधेसीतर्फ बब्लु गुप्ता, अरविन्द साह, दीपककुमार साह, जुली यादव र कामिनीकुमारी चौधरी निर्वाचित भएका छन्।

दलित समूहतर्फ विजय जैरु, शिव नेपाली, सविना विक र खिमा विक विजयी भएका छन् भने मुस्लिम समूहतर्फ समिना मिया र रहबर अन्सारी निर्वाचित भएका छन्।

खस/आर्य समूहतर्फ सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लिश्वर कार्की (रोहन), प्रकृति ढकाल, टीका संग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल, जमुना शर्मा र सुशिला कार्की पोख्रेल निर्वाचित भएका छन्।

आदिवासी/जनजाति समूहतर्फ मिलन लिम्बु, शंकर श्रेष्ठ, मिङ्गा डण्डु शेर्पा, महेश लामा, कृष्णमान श्रेष्ठ, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुशुम महर्जनले केन्द्रीय समितिमा स्थान सुरक्षित गरेका छन्।

सातै प्रदेशबाट पाँच–पाँच सदस्य

प्रादेशिक क्लस्टरतर्फ सातै प्रदेशबाट पाँच–पाँच जना सदस्य निर्वाचित भएका छन्। गण्डकी, लुम्बिनी, कर्णाली, कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सदस्यहरूले रास्वपाको नयाँ केन्द्रीय समितिलाई पूर्णता दिएका छन्।

नयाँ कार्यसमिति चयनसँगै रास्वपाले पहिलो महाधिवेशनमार्फत संगठनात्मक संरचनालाई औपचारिक रूपमा नयाँ नेतृत्वमा हस्तान्तरण गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.