काठमाडौँ । औसत समयभन्दा छ दिन ढिलो गरी नेपाल प्रवेश गरेको यस वर्षको मनसुन पूर्वी र मध्य भूभागका पाँच प्रदेशमा फैलिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार कोशीबाट गत शुक्रबार नेपाल भित्रिएको मनसुन सोमबारसम्म आइपुग्दा थप चार प्रदेशमा विस्तार भएको हो।
महाशाखाका अनुसार मनसुनी वायु हाल कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पश्चिम नेपालका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्नेछ।
सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने औसत मिति भए पनि यस वर्ष भने छ दिन ढिलो गरी मनसुन प्रवेश गरेको हो। मनसुनको प्रभाव बढ्दै जाँदा पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा शुरू भइसकेको छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन अवधिभर देशमा सरदरभन्दा कम वर्षा हुने प्रारम्भिक प्रक्षेपण गरेको छ।
मौसमविद् सुदर्शन हुमागाईंका अनुसार अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ।
विशेषगरी कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाएको छ।
साथै आगामी तीन दिनको मौसम पूर्वानुमान नियमित रूपमा हेर्न र मौसममा आउने परिवर्तनअनुसार आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




