Nidan Media

संविधान संशोधनको ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा छ : उपेन्द्र यादव

चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानमा रहेका त्रुटि, विरोधाभास र अपूर्णताहरू सच्याउँदै यसलाई थप समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने ऐतिहासिक जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काँधमा आएको बताएका छन् ।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुक अझै पनि सुशासन, समृद्धि, सामाजिक न्याय र समानताको खोजीमा रहेको उल्लेख गरे ।

उनले संविधानसभाबाट जारी गरिएको संविधानले सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिहरू संस्थागत गरे पनि ती पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको तथा संविधानभित्रै केही विरोधाभास र अपूर्णता रहेको टिप्पणी गरे ।

अध्यक्ष यादवले सयौँ वर्षदेखि विभेदमा पारिएका विभिन्न जातजाति, भाषाभाषी तथा सांस्कृतिक समुदायका हकअधिकार सुनिश्चित गर्न संविधानको संशोधन र परिमार्जन आवश्यक रहेको बताए ।

उनले संविधान संशोधनमार्फत विद्यमान विकृति र विसङ्गति हटाई देशको राजनीतिक तथा सामाजिक रूपान्तरणलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए ।

यादवले नयाँ उदाउँदो राजनीतिक शक्तिका रूपमा रास्वपाले यी मुद्दालाई आत्मसात् गर्दै मुलुकलाई समृद्धि, सुशासन र सामाजिक न्यायको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे ।

सम्बोधनको अन्त्यमा उनले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिँदै पार्टी नेतृत्व तथा प्रतिनिधिहरूलाई बधाईसमेत दिएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.