Nidan Media

कोशीमा मनसुनी प्रभाव सक्रिय, केही पहाडी र तराई क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना

काठमाडौँ। हाल कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अन्य प्रदेशमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

दिउँसो देशभर हिमाली र पहाडी भूभागमा बादल लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बादल रहनेछ भने मधेस प्रदेशमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

कोशीका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा पनि त्यस्तै मौसमको सम्भावना रहेको छ।

तराई क्षेत्रमा पनि वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशका केही तराई भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर र बागमती तथा गण्डकीका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना पनि रहेको महाशाखाले उल्लेख गरेको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा तथा कोशीको तराई क्षेत्रमा सामान्य बादल रहनेछ। मधेस र अन्य पहाडी भूभागमा आंशिक बादल तथा अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

राति कोशी, बागमती र गण्डकीका केही स्थानमा तथा लुम्बिनी र कर्णालीका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। कोशी र मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने देखिएको छ।

साथै कोशी र गण्डकीका पहाडी भूभाग तथा कोशीको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.