काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गर्दै विजयी शुरूआत गरेको छ । पहिलो हाफमा निराशाजनक प्रदर्शन गरेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
खेलको पहिलो हाफमा फ्रान्सको प्रदर्शन फितलो देखियो । टोलीको पास खेल असंगठित थियो भने आक्रमणमा पनि कुनै विशेष धार देखिएन । बरु सेनेगलले नै केही उत्कृष्ट अवसर सिर्जना गर्दै फ्रान्समाथि निरन्तर दबाब कायम राख्यो ।

सेनेगलले अफ्रिकन नेसन्स कप (एएफकन) को फाइनलिस्टका रूपमा “ग्रुप अफ डेथ” मा परेको चुनौतीबीच पनि बलियो प्रदर्शन गरेको थियो । निकोलस ज्याक्सनको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने स्यारले पनि सुनौलो अवसर गुमाएका थिए । पहिलो हाफभर सेनेगलले अग्रता लिने स्पष्ट संकेत दिएको थियो ।
तर दोस्रो हाफ शुरू भएपछि खेलको स्वरूप पूर्ण रूपमा बदलियो । फ्रान्सले आक्रमणको गति बढाउँदै खेल नियन्त्रणमा लिन थाल्यो । एमबाप्पेमाथि पेनाल्टी क्षेत्रमा भएको चुनौतीलाई रेफ्रीले अस्वीकार गरे पनि त्यसले फ्रान्सको आक्रमण रोक्न सकेन ।
त्यसको केही क्षणमै ओलिसेको उत्कृष्ट थ्रु पासमा एमबाप्पेले शानदार दौड गर्दै गोलरक्षक मेन्डीलाई छक्याएर फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि वैकल्पिक खेलाडी बार्कोलाले मैदान प्रवेश गरेको दुई मिनेट नबित्दै अर्को गोल थप्दै फ्रान्सलाई २-० को मजबुत स्थितिमा पुर्याए ।
इन्जुरी समयमा सेनेगलका इब्राहिम एमबायेले एक गोल फर्काउँदै खेलमा रोमाञ्च थपे । तर सेनेगलले पुनरागमनको प्रयास गरिरहेकै बेला एमबाप्पेले करिब ३० गज टाढाबाट शक्तिशाली प्रहार गर्दै आफ्नो दोस्रो गोल पूरा गरे र फ्रान्सको ३-१ को जित सुनिश्चित गरे ।

यस खेलमा दुई गोल गरेका एमबाप्पेले फिफा विश्वकपमा आफ्नो कुल गोल सङ्ख्या १४ पुर्याएका छन् । यससँगै उनले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका जस्ट फोन्टेनलाई पछि पार्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा जर्मनीका गर्ड मुलरसँग संयुक्त तेस्रो स्थान बनाएका छन् । उनी अब १६ गोलका कीर्तिमानी मिरोस्लाभ क्लोजभन्दा केवल दुई गोलले पछाडि छन् ।
पहिलो हाफमा दबाबमा परेको फ्रान्सले दोस्रो हाफमा आफ्नो वास्तविक क्षमता, स्टार खेलाडीहरूको प्रभाव र बलियो बेन्च शक्ति देखाउँदै सहज जित हात पारेको छ । सेनेगलले राम्रो शुरूआत गरे पनि निरन्तरता दिन नसक्दा पराजय बेहोर्नुपरेको छ ।
पहिलो हाफमा संघर्ष गरेको फ्रान्सले दोस्रो हाफमा आफ्नो वास्तविक स्तर प्रस्तुत गर्दै महत्वपूर्ण तीन अंक बटुलेको छ भने एमबाप्पेले टोलीको जितसँगै अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाएका छन्। उनको दुई गोलले फ्रान्सलाई निर्णायक रूपमा अघि बढाउँदै विश्व फुटबलमा उनको कीर्तिमानलाई अझ मजबुत बनाएको छ ।
यसै समूहका अर्को खेलमा इराक र नर्वेबीचको प्रतिस्पर्धा केहीबेरमै बोस्टनमा शुरू हुँदैछ। उक्त खेलको नतिजापछि समूहको समिकरण थप रोचक बन्नेछ, किनकि बाँकी टोलीहरू पनि बराबरी प्रतिस्पर्धामा छन् ।



