काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-१४ प्रगतिनगरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका-१ निवासी ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार मोटरसाइकल चालक २६ वर्षीय भारतीय नागरिक विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्।
टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान शुरू गरेको जनाएको छ।



