काठमाडौँ । नेपाली बजारमा आइतबार भारी वृद्धि भएको सुनको भाउ सोमबार सामान्य घटेको छ । तर चाँदीको भाउ भने बढेको छ ।
आइतबारको तुलनामा सुनको भाउ तोलामा दुई सय घट्दा चाँदीको १० रुपैयाँ बढेको हो ।
मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ रहेको थियो ।
यता, आइतबार प्रतितोला पाँच हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार सामान्य बढेर पाँच हजार तीन सय ५५ रुपैयाँ पुगेको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।





