काठमाडौँ। नवविवाहित जोडी अनिल लम्साल र ममता ज्ञवालीको वैवाहिक जीवनका अविस्मरणीय क्षणलाई समेटेर तयार पारिएको पञ्चेबाजा गीत ‘ज्याग्दी तरम्ला’ सार्वजनिक भएको छ।
गायिका देवी घर्ती र अनिल लम्सालको स्वर रहेको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा रोशन बिसीको शब्द तथा संगीत रहेको छ भने राजु सुनामले संगीत संयोजन गरेका छन्।
गीतको भिडियोमा अनिल र ममताको वास्तविक विवाह समारोहका दृश्य समावेश गरिएका छन्। विवाहको तयारीदेखि टीका, आशीर्वाद, जन्ती स्वागत, वरवधुको उपस्थितिमा सम्पन्न विभिन्न सांस्कृतिक कार्यक्रम तथा पारिवारिक जमघटका झलक भिडियोमा देख्न सकिन्छ।
पञ्चेबाजाको मौलिक धुनसँगै प्रस्तुत गरिएका ती दृश्यले नेपाली विवाह संस्कृतिको सौन्दर्य, पारिवारिक आत्मीयता र उत्सवमय वातावरणलाई जीवन्त बनाएका छन्।
भिडियोले केवल गीतको मनोरञ्जनात्मक पक्ष मात्र नभई एक जोडीको जीवनको महत्वपूर्ण दिनलाई सम्झनाका रूपमा सुरक्षित गर्ने प्रयास गरेको देखिन्छ। विवाहमा सहभागी आफन्त, साथीभाइ र परिवारका सदस्यसँग बिताइएका खुसीका क्षणलाई समेत भिडियोमा समेटिएको छ।
प्लस पोइन्ट क्रिएसन टिमले छायांकन गरेको भिडियोको सम्पादन, कलर तथा ग्राफिक्स सुभाष अम्गाईंले गरेका हुन् भने कथा तथा निर्देशन अमातुले गरेका छन्।
‘ज्याग्दी तरम्ला’ केवल एउटा गीत नभई प्रेम, परम्परा, भावना, परिवारको आशीर्वाद र वैवाहिक यात्राका अविस्मरणीय सम्झनाको दस्तावेज भएको निर्माण पक्षको दाबी छ।
वैशाख २३ गते सम्पन्न अनिल लम्साल र ममता ज्ञवालीको विवाहलाई केन्द्रमा राखेर तयार गरिएको गीतले नेपाली विवाह संस्कृतिको मौलिकता र न्यानोपनलाई दर्शक तथा श्रोतामाझ पुर्याउने अपेक्षा गरिएको छ।
भिडियो





