काठमाडौँ। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ ।
दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।
गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना हुँदैछ । बिहान नेपाली सेनाले दिवसको स्वागतमा तोप पड्काएको थियो । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ । समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपालमा गणतन्त्र स्थापना सहज रूपमा आएको राजनीतिक परिवर्तन भने होइन । दशकौँ लामो राजनीतिक संघर्ष, जनआन्दोलन, सशस्त्र विद्रोह र जनताको बलिदानपछि २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।
वि.सं. २०६२ मंसिरमा भएको १२ बुँदे समझदारीपछि तीन ध्रुवमा विभाजित राजनीतिक शक्ति दुई ध्रुवमा आएसँगै आन्दोलनले गति लिएको थियो । २०६२ फागुनदेखि शुरू भएको निर्णायक आन्दोलन चैतमा थप सशक्त बनेको थियो भने नयाँ वर्षसँगै लाखौँ नागरिक सडकमा उत्रिएका थिए ।
अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरूको मार्गचित्रअनुसार २०५९ जेठ ८ गते विघटन गरिएको संसद् पुनःस्थापना गर्न बाध्य हुँदै बैठक आह्वान गरेका थिए ।
वि.सं. २०६३ जेठ ४ गते बसेको पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । संसद्ले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावलाई नेपाली ‘म्याग्नाकार्टा’का रूपमा समेत लिइन्छ ।
यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएको थियो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरेको थियो ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि महत्वपूर्ण राजनीतिक आधार तयार गरेको थियो । त्यसपछि २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।
संविधानअनुसार संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने तीनै तहका सरकारले शासन सञ्चालन गरिरहेका छन् ।
संविधानसभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । त्यसपछि विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति तथा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनेकी थिइन् ।
हाल रामचन्द्र पौडेल राष्ट्रपतिका रूपमा कार्यरत छन् । गणतन्त्र स्थापनाअघि नेपालमा राजतन्त्र व्यवस्था कायम थियो र राजा नै राष्ट्र प्रमुख हुने व्यवस्था थियो ।


