Nidan Media

पश्चिम तराईमा तीन दिन अत्यधिक गर्मीको चेतावनी

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा आगामी तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना रहेको छ । ती क्षेत्रमा मध्यम स्तरको तातो हावाको लहर चल्न सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई उच्च सतर्कतामा राखेको छ । यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा समावेश गरिएको छ ।

अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार जारी गरेको तातो दिन तथा तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिनमा जेठ ६ गतेदेखि तराईका केही भूभागमा तापक्रम तीव्र रूपमा बढिरहेको उल्लेख गरेको छ ।

चिकित्सकका अनुसार अत्यधिक गर्मीका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ।

तातो हावाको लहरबाट बच्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकेसम्म घरभित्रै बस्न तथा बाहिर निस्कनै परे छाता ओढ्न वा पातलो कपडाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै खुकुलो र हल्का रङको कपडा लगाउने, प्रशस्त पानी पिउने, बेलाबेलामा चिसो पानीले नुहाउने तथा कम चिनी भएको सर्वत, कागती पानी र फलफूल सेवन गर्न सुझाव दिइएको छ । धेरै पसिना आएमा जीवनजल पिउन पनि प्राधिकरणले अनुरोध गरेको छ ।

घरमै बनाएको ताजा खानेकुरा खान, सकेसम्म पत्रु खाना नखान तथा खेतबारी वा बाहिरको काम बिहान वा साँझको शीतल समयमा मात्रै गर्न पनि सुझाव दिइएको छ । बालबालिकालाई चर्को घाममा खेल्न नदिन समेत प्राधिकरणले आग्रह गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.