धनगढी । कैलालीमा तालिमका क्रममा आठ जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन् ।
राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत उनीहरू शुक्रबार बिहान दौडिने क्रममा अचानक बेहोस भएका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार बिहान करिब ९ बजेतिर उनीहरू बेहोस भएको जानकारी प्राप्त भएको हो ।
बेहोस हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
उनीहरूलाई तत्कालै टीकापुर अस्पताल पुर्याई अक्सिजनसहितको उपचार दिइएको थियो । अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुमानअनुसार अत्यधिक गर्मीका कारण शारीरिक असहजता उत्पन्न भई उनीहरू बेहोस भएको हुनसक्ने बताइएको छ ।




