जनकपुर। मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने तयारी गरिरहँदा अघिल्लो दिन राति नै एमालेबाट मन्त्री प्रवेश गराइनुले प्रदेशको सत्ता समीकरणमा नयाँ हलचल ल्याएको छ ।
बिहीबार अबेर राति नेकपा एमालेका तर्फबाट मोहम्मद समिरलाई विनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी गराइएको हो ।
विश्वासको मत लिनु केही घण्टा अघिमात्रै भएको यो प्रवेशलाई राजनीतिक वृत्तले सत्ता समीकरण बदलिने स्पष्ट संकेतका रूपमा व्याख्या गर्न थालेका छन् ।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार पार्टीबाट थप तीन जना मन्त्री सरकारमा सहभागी हुनेछन् ।
उनका अनुसार समिरले आजै शपथ ग्रहण गर्ने र बाँकी तीन मन्त्रीलाई साँझसम्म शपथ गराउने तयारी भइरहेको छ । उनले एमालेले चार ओटा मन्त्रालय पाउने सहमति भएको पनि स्पष्ट पारेका छन् ।
नेता यादवले केन्द्रमा बनेको नयाँ गठबन्धनको प्रभावअनुसार एमाले सरकारमा सहभागी भएको दाबी गरेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने सम्भावना रहेको पनि बताएका छन् ।
यद्यपि जसपा नेपालले भने अघिल्लो दिन मात्रै मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने भन्दै ह्वीप जारी गरिसकेको छ ।
मुख्यमन्त्री यादवले भने जसपा नेपाललाई पनि साथमै लिएर सरकार अघि बढाउने प्रयास जारी राखेका छन् । तर एमालेको प्रवेशसँगै प्रदेश सरकारभित्रको राजनीतिक सम्बन्धमा नयाँ तनाव देखिन थालेको छ ।
प्रदेशसभाको अंकगणितअनुसार जसपा नेपालका २६, एमालेका २४, नेपाली कांग्रेसका २२, माओवादी केन्द्रका १३, जनमत पार्टीका १२ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका एक–एक जना सांसद छन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रको समर्थन मात्र जोड्दा ६० सांसद पुग्छन् भने जसपा नेपालको समर्थन जोडिएपछि मुख्यमन्त्री यादवले करिब ८६ सांसदको विश्वास पाउने अनुमान गरिएको छ ।




