काठमाडौँ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रमसहित नेपालसहित विश्वभर मनाइँदैछ । हरेक वर्ष मे २२ मा मनाइने यो दिवसले पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासका लागि जैविक विविधताको महत्वबारे जनचेतना फैलाउने उद्देश्य बोकेको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा मनाइने यस दिवसका अवसरमा वनस्पति, वन्यजन्तु, जलचर तथा सूक्ष्म जीवहरूको संरक्षणसँगै सम्पूर्ण पारिस्थितिक प्रणालीको महत्वबारे विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । नेपालमा पनि सरकारी निकाय, संरक्षणकर्मी तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूले र्याली, हाइकिङ, गोष्ठी, अन्तर्क्रिया र सचेतनामूलक अभियान सञ्चालन गरेका छन् ।
यस वर्ष दिवसको नारा ‘स्थानीय प्रयास, विश्वव्यापी प्रभाव’ तय गरिएको छ । यो नाराले समुदाय तहबाट गरिने साना संरक्षणात्मक गतिविधिले पनि विश्वव्यापी वातावरण संरक्षणमा ठूलो योगदान पुर्याउन सक्ने सन्देश दिएको छ । सरोकारवालाहरूका अनुसार प्रकृति संरक्षण घर, गाउँ र समुदायबाटै सुरु हुने भएकाले जैविक विविधता जोगाउन सबै पक्षको साझा सहभागिता आवश्यक छ ।
नेपाल जैविक विविधताको दृष्टिले विश्वकै धनी मुलुकमध्ये एक मानिन्छ । हिमाल, पहाड र तराईको भौगोलिक विविधताका कारण यहाँ दुर्लभ वनस्पति, वन्यजन्तु तथा प्राकृतिक स्रोतको उल्लेखनीय भण्डार रहेको छ । सीमित भूभागमै फरकफरक हावापानी र पारिस्थितिक प्रणाली पाइने भएकाले नेपाललाई जैविक विविधताको महत्वपूर्ण केन्द्रका रूपमा लिने गरिन्छ ।
वन विभाग, वनस्पति विभाग तथा संरक्षणसम्बन्धी संस्थाहरूले पछिल्लो समय वन्यजन्तु संरक्षण, वन विस्तार, जलस्रोत जोगाउने अभियान तथा स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएका छन् ।
जलवायु परिवर्तन, वन विनाश, अवैध सिकार तथा प्रदूषणका कारण जैविक विविधतामाथि चुनौती बढिरहेको अवस्थामा यस्ता अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।




