काठमाडौँ । प्रतिनिधि सभाको बैठक आगामी जेठ १२ गते मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।
बिहीबार बसेको बैठकमा विपक्षी दलहरूको तीव्र विरोध र नाराबाजीका बीच सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अगाडि बढाउँदै विधेयकहरू पारित गराएपछि बैठक स्थगित गरेका हुन्।
बैठकको सुरुदेखि नै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र साहको उपस्थिति माग गर्दै वेल घेराउ गरेर नाराबाजी गरेका थिए।
मासिक कार्यसूचीअनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि प्रधानमन्त्री संसद्मा अनिवार्य उपस्थित हुनुपर्ने अडान प्रतिपक्षको थियो।
विपक्षीको नाराबाजी र अवरोधका बीच सभामुख अर्यालले सरकारका तर्फबाट विधेयक प्रस्तुत गर्न समय दिएका थिए। सोही क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।
विपक्षी सांसदहरूले प्रक्रियामा भाग नलगे पनि विधेयक पारित भएसँगै सभामुख अर्यालले सदनको अर्को बैठक जेठ १२ गतेसम्मका लागि स्थगित भएको घोषणा गरे।




