काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा तीन हजार तीन सय र चाँदीको एक सय २५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, मंगलबार प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार घटेर चार हजार नौ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।



